बालविवाह मुक्त पालिका घोषणा गर्ने उद्येश्यले धनुषाको मिथिलामा बालिका सम्मेलन आयोजना
काठमाडौं । बालविवाह मुक्त पालिका घोषणा गर्ने उद्येश्यले धनुषाको मिथिला बिहारी नगरपालिकामा बालिका सम्मेलन आयोजना गरिएको छ ।
लाइफ नेपालले आयोजना गरेको पालिकास्तरीय बालिका सम्मेलनमा जनप्रतिनिधिहरुले बालविवाह मुक्त नगरपालिका घोषणा अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
गल्र्स च्याम्पियनहरूको नेतृत्वद्वारा संचालित बालिका सम्मेलनले बालिकाहरूको आवाज समुदाय रूपान्तरणको लागि महत्वपूर्ण साबित हुने तर्क गरिएको थियो । मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्र प्रसाद यादव, उपप्रमुख शोभा देवी साह र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र न्यौपानेले अभियानमा सामूहिक प्रतिबद्धता जनाउँदै पालिका घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । बालिका सशक्तिकरण गर्दै बालविवाह अन्त्य गर्ने प्रतिबद्धता नगर प्रमुख यादवले जनाएका थिए ।
किशोरी प्रिती मण्डलको अध्यक्षतामा भएको बालिका सम्मेलनले नगरपालिकालाई बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने अभियानमा बल पुग्ने लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले विश्वास व्यक्त गरे । लाइफ नेपालले मिथिला बिहारी नगरपालिकासहित लक्ष्मीनियाँ गाउँपालिका, मिथिला नगरपालिकामा पनि बालिका सम्मेलन गरेर बालविवाह मुक्त पालिका घोषणा गर्ने अभियानलाई अघि बढाएको छ ।
मधेशमा हालसम्म दुई वटा पालिका मात्र बालविवाह मुक्त घोषणा हुन सकेको छ । मिथिला बिहारी लगायत मिथिला र लक्ष्मीनियाँ गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न अभियान तीव्र पारिएको लाइफ नेपालका डाँली शर्माले बताइन् । बालिका सम्मेलनमा वडाध्यक्षसहित १५० किशोरी बालिका, शिक्षक, सुरक्षानिकायका प्रतिनिधिहरु सहभागी थिए । पालिकाबाट ७ बुँदे घोषणा पत्र घोषणा गरिएको थियो ।
