पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव हुने
कला–संस्कृति प्रवद्र्धन गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु मुख्य उद्देश्य
काठमाडौं । पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नारासहित रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले लेकसाइडमा आगामी पुष १३ देखि १७ गतेसम्म २७ औँ संस्करणको सडक महोत्सव आयोजना गर्न लागेको हो ।
लेकसाइडको फिस्टेल गेट देखि चौतरा सम्मको करिब तीन किलोमिटर सडकमा हुने महोत्सवका लागि मूल आयोजक समिति बनाएर तयारी सुरु भइसकेको पोखरामा आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
यस वर्षको महोत्सवमा लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, लाइभ कन्सर्ट, प्रतियोगिता लगायत सचेतनामूलक सडक नाटक र सेल्फी फोटो समावेश हुने रेवानका अध्यक्ष विश्वराज पौडेलले बताए ।
महोत्सव अवधिभर पर्यटन प्रवद्र्धन, अवसर र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम, स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, कृषि उत्पादन समेटिएको वृत्तचित्र प्रदर्शन र पर्यटकीय गन्तव्य प्रवद्र्धन सम्बन्धी कार्यक्रम पनि आयोजना हुने बताइएको छ । महोत्सवको मुख्य उद्देश्य कला–संस्कृति प्रवद्र्धन गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु, पोखरा र लेकसाइडको प्रचार प्रसार गर्नु, व्यापार बढाउनु र शहरको ब्राण्डिङ रहेको छ ।

.gif)