राष्ट्रपति पाैडेलले दिए उधौली पर्वकाे शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको बताएका छन् । बिहीबार किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा उल्लेख छ । उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् ।
किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् । उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।
