अनुसन्धान क्रममा रहेका कागजात उपलब्ध गराउन प्रहरीको अनुरोध
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको क्रममा रहेको मुद्धा मामिलाका कागजात उपलब्ध गराउनु अनुरोध गरेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा प्रहरी कार्यालयहरुमा आगजनी हुँदा अनुसन्धानको क्रममा रहेका कागजातहरु जलेर नस्ट भएको भन्दै प्रहरीले पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा ती कागजात उपलबध गराइदिन अनुरोध गरेको छ ।

.gif)