उपसभामुख रानालाई हटाउन एमालेको हस्ताक्षर अभियान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्दै उपसभामुख भएकी इन्दिरा रानालाई सत्तारुढ नेकपा (एमाले)ले संसदीय दलमा हस्ताक्षर थालेको छ । पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको हो । सांसदहरु एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।
प्रतिनिधिसभामा एमालेका कुल ७९ सांसदमध्ये टोपबहादुर रायमाझी निलम्बनमा भएकाले ७८ जना कायम छन् । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा डाकिएको थियो ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।
