रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो । बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा सुरु भएको छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो ।
भोलि (आइतबार)देखि हुने रास्वपाको प्रथम महाधिवेशनलाई लक्षित गरि केन्द्रीय समितिको बैठक गर्न लागिएको हो । प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको यो बैठक अन्तिम केन्द्रीय समिति बैठक हो । बैठकमा पार्टीको पहिलो महाविधेशनको तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल भइरहेको जनाइएको छ ।
रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति सदस्य रहेका छन् । अब विधान संशोधन गरेर त्यसलाई १५१ सदस्य बनाउने प्रस्ताव गरिएको जनाइएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ । रास्वपाको प्रथम महाधिवेशन आइतबारदेखि ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ ।
महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जानकारी गराइएको छ । महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुने भएको छ ।
अन्य पार्टीको महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई खाना र बस्नका लागि चाँजो पाँजो मिलाउने चलन भए पनि रास्वपा भने खानाको प्रवन्ध मात्र मिलाएको छ । प्रतिनिधिहरू आफैले बस्ने व्यवस्था मिदलाउनु पर्ने हुन्छ ।
