उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोगको तयारी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेका छन् । यसका लागि दुवै दलले छुट्टाछुट्टै संसदीय दलको बैठक बोलाएका छन् । आकस्मिक रुपमा बोलाइएको संसदीय दलको बैठकमा उपसभामुख रानाविरुद्ध महाभियोग लगाउनेबारेमा छलफल हुन लागेको हो ।
नेपाली नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । बैठकमा उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनेबारेमा छलफल गर्ने र महाभियोगपत्रमा सांसदहरुलाई हस्ताक्षर गराउने तयारी गरिएको छ ।
संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजेभित्र सांसदहरू उपस्थित भइसक्ने कांग्रेसको निर्देशन छ । यसैगरी, एमालेले पनि संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एमालेले पनि उपसभामुख रानाविरुद्ध लगाउने महाभियोग प्रस्तावमा आफ्ना सांसदहरुलाई हस्ताक्षर गराउने तयारी गरेको हो ।
उपसभामुख रानामाथि मानव तस्करीको विषयमा छानबिन हुनुपर्ने माग उठिरहेको छ । उनीमाथि संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोप छ ।
