रवि लामिछानेलाई काठमाडौँ ल्याएर नख्खु कारागार लगियो
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौंं ल्याएर त्रिभुवन विमानस्थलबाट सिधै नख्खु कारागार लगिएको छ ।
लामिछानेलाई शनिबार बेलुका बुद्ध एयरबाट काठमाडौँ ल्याएर विमानस्थलस्थित नेपाल आयल निगमको गेटबाट निकालेर सिधै नख्खु लगिएको हो । कारागार व्यवस्थापन विभागले शुक्रबार गरेको निर्णय अनुसार लामिछानेलाई नख्खु लागिएको हो । नख्खु कारागार बाहिर लामिछानेका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका छन् । लामिछानेले आफ्ना समर्थकहरूलाई भ्यानबाटै हात हल्लाएर कारागारभित्र छिरेका छन् ।
लामिछानेको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, तथा नेताहरू पनि पुगेका थिए । लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गएको चैत २५ देखि कारगारमा राखिएको हो । रुपन्देही कारागारमा रहेका लामिछानेले आफूलाई काठमाडौ उपत्यकाभित्र सार्न माग गर्दै जेठ १४ गते जिल्ला अदालतमा निवेदन दिएपछि नख्खु ल्याइएको हो ।
अदालतले लामिछानेलाई कारागार सार्न जेठ १६ गते नै अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि सरकार सरुवा गर्न बाध्य भएको हो ।
