मधेसका मुख्यमन्त्रीसँग भारतीय जल शक्ति मन्त्रालय टोलीको भेट
भू-जल अवस्थामाथि अनुसन्धान गर्ने, पानी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्रीसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको टोलीले आज भेटघाट गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहसँग बिहीबार भारतीय जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले टोलीले बिहान भेटघाट गरेको हो ।
प्रतिनिधिमण्डलले प्रदेशको भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरूबारे सुझाव दिने योजना प्रस्तुत गरेको जनाइएको छ ।
टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर भू–जल सम्बन्धी आवश्यक अनुसन्धान गर्ने जनाएको छ । भारतीय टोलीमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञ आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय सहभागी थिए । मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
