sevenstartv.com ११ असार २०८३, बिहिवार

बागमती प्रदेशका ५ सचिवको सरुवा

२९ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकै पटक सरुवा गरेको छ ।

गत सोमबार २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ७२ जना सहसचिवहरुको सरुवा गर्दा बागमती प्रदेशका पाँच जना परेका हुन् । सरकारले बागमतीबाट पाँच जना प्रदेश सचिवको सरुवा गर्दा चार जनालाई मात्रै पठाएको छ । बागमतीले विगतदेखि नै प्रदेश सचिवहरुको अभाव झेल्दै आएको छ ।

बागमती प्रदेशमा हाल कार्यरत् आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीको सरुवा भएको छ । उनी सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठको राष्ट्रिय विपाद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सरुवा भएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव बिनु बज्राचार्य कुंवरको गृह मन्त्रालयमा सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव उदयबहादुर रानामगरको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । खानेपानी ऊर्जा तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य सरुवा भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश पुगेका छन् ।

यसैगरी, सरकारले अन्य प्रदेश र संघ सरकार मातहतका कार्यालयमा कार्यरत् चार जना सहसचिवलाई बागमती प्रदेश सचिवको रुपमा सरुवा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव इन्द्रदेव भट्टको बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंबाट पार्वती शर्मा र लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकालको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्