एमाले दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताएका छन् । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताएका हु्न् ।
पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा सो विषयलाई टुङ्ग्याइ सकेको उनले बताए । पार्टी विधानमा आफैले स्थगित गरेको कुरालाई स्थगित नगरे जसरी कार्यकर्ता र जनताको बिचमा लैजानु नहुने उनको धारणा छ । आफैँले गरेको काममा टिका टिप्पणी गर्नु राम्रो नहुने उनले स्पष्ट पारे । पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरा एमालेले लोकतन्त्र, पार्टी र स्वयम् पूर्वराष्ट्रपतिको हितका लागि सोचविचार गरेर गरेको उनले बताए ।
बाँकी विषयमा महाधिवेशनमा आधार सहित छलफल गर्न सकिने उनको भनाइ छ । पार्टी भित्र विभिन्न खालका अन्तर्घात अहिले पनि कायम रहेको भन्दै उहाँले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन यसलाई त्यागेर एक ढिक्का भएर अघि बढ्नु पर्ने उनको धारणा छ । कोही आयो भने म असुरक्षित हुन्छु भन्ने कुराबाट मुक्त हुनु पर्नेमा उनले जोड दिए । यो सोच र प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको धारणा छ ।
यत्रो समय मैले गरेँ अब पार्टीले गर्नुपर्छ भन्ने सोच गलत भएको भन्दै उनले त्यसलाई त्याग्नु पर्नेमा जोड दिए । पार्टीको समृद्ध नेपाल निर्माण गर्ने योजना भएको बताउँदै उनले एमालेका सबै ५ लाख सदस्यलाई पार्टीले पद दिन नसकिने स्पष्ट पारे । त्यसैले समृद्ध नेपाल निर्माणको लक्ष बोकेर पार्टीका नेता कार्यकर्ता अघि बढ्नु पर्ने उनको धारणा छ । समाज बदल्नका लागि हिजो जीवन जोखिममा राखेर हिँडेको स्मरण गराउँदै उनले अहिले पार्टी भित्र अवसरवाद जन्मिएको उनको भनाइ छ ।आफूलाई चित्त बुझेन भने सामाजिक सञ्जालमा पार्टी र नेताको विरुद्ध जथाभाबी लेख्ने प्रवृत्ति रोक्न उनले निर्देशन दिए ।
उनले चुनावको बेलामा काम नलाग्ने नेता कार्यकर्ताको कुनै काम नभएको बताएका छन् । पार्टीले बहुमतको सरकार बनाएपछि मात्र पार्टीको नीति लागु गर्न सकिने कुरा नबिर्सन उनले आग्रह गरे । अहिले देशमा स्थायित्वको लागि नेपाली कांग्रेससँग मिलेको भए पनि आउने चुनाव दुवै पार्टी एक्ला एक्लै लड्ने उनले स्पष्ट पारेका छन् । पार्टीको आफ्नो नीति लागु गर्नका लागि एक्लै चुनाव लडेर बहुमतको सकार बनाइ पार्टीको नीति कार्यान्वयनमा लैजाने पोखरेलले बताए ।
उनले पार्टीलाई बलियो बनाउन युवाका बिचमा जानु पर्नेमा जोड दिए । एमाले युवाबाट नै बनेको पार्टी भएकोले यो कुरालाई जगाउन आवश्यक रहेको बताएका छन् । यसको लागि युवाको बिचमा काम गर्ने योजना बनाउन आवश्यक रहेको पोखरेलले प्रष्ट पारे । त्यसै आज मतदान केन्द्रमा सबैभन्दा बढी सहभागिता महिलाको हुने भन्दा उनले महिलाको बिचमा पार्टीको काम गर्नुपर्ने बताएका हुन् । त्यस्तै विदेशमा रहेको युवालाई पार्टीको अवधारण बुझाउन नसक्ने हो भने मत प्रभावित हुन्छ भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिए ।
