युवाहरुको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँ : परराष्ट्रमन्त्री डा. आरजु राणा
काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवा बर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको बताएकी हुन् ।
नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरुको रहेकाले यही बर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाई थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जाेड दिएकी छन् ।
मन्त्री डा. राणाले स्वदेश फर्र्किएका कैयौँ युवाहरुले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताएकी हुन् । युवाहरुको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गरीन् । मन्त्री डा. राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यम लगायतका कैयौँ क्षेत्रमा नेपाली युवाहरुले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका प्रसङ्ग पनि उल्लेख गरीन् ।
नेपालीहरुले संसारमा नै परिश्रमी र इमान्दार नेपालीको पहिचान बनाएको बताउँदै मन्त्री डा. राणाले यसलाई पनि हामीले पुँजीका रुपमा लिनुपर्ने धारणा राख्न् । उनले देशका युवाहरुलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययन पछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव पनि दिएन् ।
