sevenstartv.com ११ असार २०८३, बिहिवार

निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

२१ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । विपक्षी दलले निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधि संविधानविपरीत रहेको निष्कर्ष निकालेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलको बुधबार बसेको बैठकले कार्यविधि सत्ता गठबन्धनको चाहनाअनुरूप ल्याउन लागिएको ठहर गरेको छ । विपक्षी दलले त्यसविरुद्ध आवश्यकता अनुसार संघर्ष र प्रतिवाद गर्ने समझदारी समेत बनाएका छन् । आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का विषयमा विपक्षी दल गम्भीर भएका हुन् । 

विपक्षी दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  कार्यविधि हालको संविधान, ऐन तथा कानुन विपरीत रहेकाले सम्र्पूण दलको साझा धारणा बनाउन प्रस्ताव गर्नुभएको थियो । माओवादी अध्यक्ष दाहालले कांग्रेस र एमालेले निर्वाचन आयोगलाई त्यो कार्यविधिमा ‘गो अ हेड’ दिएको सूचना पाएको बताउँदै बैठक त्यसविरुद्ध एकजुट हुन प्रस्ताव गर्नुभएको हो । 

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रस्तावित कार्यविधि राजनीतिक दलसम्बन्धी ऐन २०७३ सँग मेल नखाने धारणा राख्नुभएको छ । कार्यविधिबाट प्रस्तावित समिति, त्यसका संयोजक तथा अधिकारहरू संविधान र कानुनको मर्मविपरीत रहेको अध्यक्ष नेपालको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै गल्तीपूर्ण भएको दाबी गर्दै आफूहरू यसको विरोधमा रहेको प्रष्ट पार्नुभएको छ ।  

राप्रपाका नेता बुद्धिमान तामाङ, लोसपाकी नेतृ रेखा यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्तिका नेताहरू, र अन्य दलका प्रतिनिधिहरूले कार्यविधि संविधान, लोकतन्त्र र दलको स्वायत्तताविरुद्ध रहेको टिप्पणी गर्नुभएको छ ।