समाज भड्काएर जनताका सपना डकैती गर्न खोजियो : पूर्वमन्त्री बास्कोटा
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोजिरहेको टिप्पणी गर्नुभएको छ ।
सांसद बास्कोटाले बुधबार प्रतिनिधिसभामा बोल्दै केही व्यक्तिहरूले अहिले समाजलाई भड्काउने काम गरिरहेको आरोप लगाउनुभयो । समाजमा अहिले केही असन्तुष्टिमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले छेक्ने कार्य भइरहेको पूर्वमन्त्री बास्कोटाको भनाई छ ।
एमाले नेता बस्कोटाले आरोप प्रत्यारोप, छटपटी आक्रोश देशको पछिल्लो बिम्ब भएको उल्लेख गर्नुभयो । अहिले व्यवस्थाले राजनीतिक दलको परिकल्पना गर्ने प्रष्ट्याउँदै बास्कोटाले लोकतन्त्र फल्ने र फुल्ने विश्वास दिलाउनुभयो । राजनीति सही ढंगले अगाडि नबढ्दा अहिले क्रान्ति र प्रगतिप्रतिको विश्वास धर्मराउँने तथा घृणावाद र लोकप्रियतावाद फस्टाइरहेको बास्कोटाको भनाई छ । सांसद बास्कोटाले हावाको तालमा कुद्ने बानी जनप्रतिनिधिमा पनि देखिएको भन्दै कानून बनाउने ठाउँमा भएकाहरुले कागको पछि दौडिन नहुने बताउनुभयो ।
वहुविवाह सम्बन्धी कानून आउन लाग्यो भन्ने हल्लाको पछि लागिएको भन्दै उहाँले परिवारसँग सम्बन्धि अलग्गै कानून आवश्यक रहेको बताउनुभयो । बास्कोटाले वहुविवाह गर्नेलाई कुनै सार्वजनिक पदमा जान नसक्ने कानून बनाउन आफ्नो प्रस्ताव रहेको धारणा व्यक्त गर्नुभयो ।
