बागमतीमा इन्द्र बानियाँ मुख्यमन्त्री नियुक्त हुँदै
काठमाडौं । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
बहादुरसिं लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्। प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ । ११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
