sevenstartv.com ११ असार २०८३, बिहिवार

गठबन्धन सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने माओवादीको निर्णय

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र गठबन्धन सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ । 

माओवादी केन्द्रको चार दिनसम्म चलेको स्थायी समिति बैठकले सरकार दलाल तथा विचौलियासँग मिलेको आरोप लगाउँदै त्यसविरुद्ध सशक्त रुपमा लाग्ने निर्णय गरेको छ । माओवादीले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले सहकारी ठगीमा आफ्ना नेता जोगाएर प्रतिपक्षीलाई मात्रै लगाम कसेको र लोडसेडिङ बढाउन थालेको आरोप लगाएको छ । 

भिजिट भिसा प्रकरणमा आफ्ना नेतालाई जोगाएको, विद्यालय शिक्षा विधेयकमा ढिलाइ गरेको र त्रिभुवन विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको माओवादीको आरोप छ । माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले स्थायी कमिटी बैठकमा भएको २६ निर्णय सोमबार सार्वजनिक गर्नुभएको छ । माओवादीको निर्णयमा मूल्यवृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै उल्ेख गर्दै कालोबजारी नियन्त्रण र सीमाबाट भित्रिने नागरिकलाई दुःख दिने कार्य बन्द गर्न सरकारसँग गरिएको छ । 

प्राकृतिक श्रोतको अवैध उत्खनन् र वन अतिक्रमणका कारण तराईमा खडेरीसहित विभिन खालका समस्या उत्पन्न भएको माओवादीको ठहर छ । बैठकको निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष सापकोटाले बीचमा रोकिएको माओवादीको मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट शुरु हुने जानकारी समेत गराउनुभएको छ ।