वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । रुपन्देहीमा वडाध्यक्षसहित दुईजनाविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवसहित २ जनामाथि घुस लिएको आरोप लगाएको हो ।
वडाध्यक्ष यादवले वडास्थित विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ३ लाख घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । यादवले सेवाग्राहीसँग मोल मोलाई गरी घुस रकम मागेर सिद्धार्थनगर–९ स्थित श्री गणेश ट्रेडिङका विपिनकुमार पाण्डेयलाई लिन लगाएका थिए ।
अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादव र सञ्चालक विपिनकुमार पाण्डेयलाई ३ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा यादवले मर्चवारी गाउँपालिका–३ अन्तर्गत सञ्चालित आ।ब। २०८१र०८२ मा सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण, पुर्निकोट गाउँभित्र सडक पी.सी.सी.ढलान र सुरहवाँ गाउँभित्र सडक पी.सी.सी.ढलान कार्य योजनाहरूको काम सम्पन्न भई सिफारिस दिने कार्यमा घुस मागेका पुष्टि भएको अख्तियारले जनाएको छ ।
यादवलाई ३ लाख रुपैयाँ बिगो जरिवाना कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद गर्न अख्तियारले माग दावी गरेको छ । यस्तैगरी पाण्डेयले मतियारका रूपमा संलग्न भई भ्रष्टाचारजन्य कसुरमा सहकार्य, सहजीकरण तथा सघाउने कार्य गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि ३ लाख बिगोसँगै यादव सरह सजाय माग गरी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
