स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री डा. आरजु राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन् । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेका उल्लेख गरेकी हुन् ।
बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र विरामीहरुलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ–शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उनले बताइन् । मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन् ।
उनले भनिन्, 'नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।'
उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिएकी छन् । मन्त्री डा. राणाले नर्सिङजस्तो महत्वपूर्ण र संवेदनशील विषयका स्नातकहरुलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यवहारिक बनाउन एवं नरम व्यवहार तथा सेवा मार्फत विरामीहरुको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिइन् ।
