sevenstartv.com ११ असार २०८३, बिहिवार

'बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन बन्दैन'

१८ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन् । 

नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उनले स्पष्ट पारे। यसमा पुरुष वा महिला जो कोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको उनले बताए ।

मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याउन नलागेको स्पष्ट  पारे । उनले आफ्ना पनि घरमा छोरीहरू रहेको भन्दै महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने प्रतिवद्धता जनाए । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ। गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि उनले स्पष्ट पारे ।