माओवादीभित्र अन्तरसंघर्ष चर्किदै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको विषयलाई लिएर अन्तरसंघर्ष चर्किदै गएको छ ।
माओवादी केन्द्रमा नेतृत्व परिर्वतन गर्नुपर्ने विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा समूहबीच अन्तरसंघर्ष चर्किएको हो । अध्यक्ष दाहालले उपमहासचिव शर्माको पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउनुभएको छ ।
माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले अप्ठयारो परिस्थितिमा पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । शर्माले पार्टी नेतृत्वविरुद्ध सार्वजनिक रूपमा विधिभन्दा बाहिर गएर दिएको त्यस्तो अभिव्यक्तिले राम्रो सन्देश नगएको अध्यक्ष दाहालको भनाई छ ।
स्थाथी कमटिीमा अध्यक्ष दाहालले पार्टीभित्रको कुरा छलफल र बहस गर्न सबैलाई छुट छ तर, जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो, त्यो ठिक होइन र यसले राम्रो सन्देश गएको छैन । पार्टीभित्र अनुशासन कायम हुनुपर्छ । भन्दै असन्तुष्टि जनाउनुभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।
उपमहासचिव शर्माले पछिल्लो समय नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको माग गर्दै आउनुभएको छ । शर्माले आगामी महाधिवेशनबाट नेतृत्वमा अध्यक्ष दाहाललाई चुनौती दिने गरी अघि बढेपछि माओवादीभित्र अन्तरसंघर्ष चर्किएको हो ।
त्यही कारण स्थाथी कमिटी बैठकमा अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीचको अन्तरसंघर्षको विषय छलफलको एजेन्डा बनेको हो । स्थाथी कमिटी बैठक शनिबार ११ बजे बस्ने भएको छ ।
