sevenstartv.com ११ असार २०८३, बिहिवार

संयुक्त राष्ट्रसंघको महत्वपूर्ण अंग इकोसकको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित

१६ साउन २०८२, शुक्रवार स्टार संवाददाता

 काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो ।

विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले बताए ।

यसअघि सो पदमा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे थिए । समारोहमा इकोसकका निवर्तमान अध्यक्ष रेले थापालाई अध्यक्ष पद हस्तान्तरण गरे ।आर्थिक तथा सामाजिक परिषद् (इकोसक) संयुक्त राष्ट्रसंघका ६ वटा मुख्य अङ्गमध्ये एक हो । यसले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयमा सहकार्य र विकासका क्षेत्रमा काम गर्छ ।

यसमा ५४ सदस्य राष्ट्रहरू सदस्य हुन्छन्, जसलाई महासभाले तीन वर्षका लागि क्षेत्रीय आधारमा निर्वाचित गर्छ । इकोसकले विकासदेखि मानवअधिकारसम्म काम गर्ने संयुक्त राष्ट्रसंघका विशेष एजेन्सीहरू, आयोगहरू र निकायहरूको कामलाई समन्वय गर्छ । यो स्थापना भएको ८० वर्ष पुगिसकेको छ ।

अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने विषयमा निर्णय गर्ने निकाय पनि इकोसक नै हो । स्तरोन्नतिसम्बन्धी विषयमा विकास नीति केन्द्र नामक राष्ट्रसंघीय निकायले गर्ने सिफारिसलाई इकोसकले स्वीकृति प्रदान गरेर महासभामा पेश गर्छ । महासभाले  यस सम्बन्धमा अन्तिम निर्णय गर्छ ।

यो निकायले कोही पनि पछि नछुट्ने कुराको सुनिश्चितता गर्दै विश्वको विकास एजेन्डा निर्धारण गर्ने काम यो निकायले गर्नुपर्ने थापाले बताए ।