sevenstartv.com ११ असार २०८३, बिहिवार

देउवा डराउँदा अड्किएको मन्त्रिमण्डल पुनर्गठन

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तत्तपरता देखाउनुभएको छ । तर सात दलीय गठबन्धनमा कुरा नमिल्दा प्रधामनमन्त्रीले चाहेर पनि मन्त्रिण्डल पुनर्गठन हुन सकिरहेको छैन ।

 प्रधानमन्त्री ओलीले मन्त्री फेरबदलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बारम्बार छलफल गर्दै आएका छन् । तर पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसबाट सरकारमा अहिले सहभागी भएकाहरुलाई हेरफेर गर्दा पार्टीभित्र विवाद हुने डरले यसबारेमा प्रधानमन्त्री ओलीलाई ःनिर्णय दिन सकिरहेका छैनन् । त्यस्तै सहकारमा सहभागी अन्य साना दलको भागबण्डा नमिल्दा पनि मन्त्रिमण्डल पुनर्गठन हुन सकिरहेको छैन । 

अहिले भइरहेका मध्ये केही मन्त्री विभिन्न किसिमको विवादमा परेका छन् । कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन् । त्यहीकारण राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री  लेखकको राजीनामा माग्दै ससंद अवरोध गर्दै आइरहेका छन् । प्रधानमन्त्री ओलीले गृहमन्त्रीबाट लेखकलाई हटाउन चाहेका छन् तर कांग्रेस बिच्कने डरले निर्णय लिन सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउने प्रकरणमा जोडिएका छन् । त्यही प्रकरणमा संलग्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निवर्तमान मन्त्री राजकुमार गुप्ताले भने पदबाट राजीना दिएका छन् । गुप्ताको राजीनासँगैे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बनिसकेकी छन् । तर मन्त्री अधिकारीलाई भने त्यही प्रकरणमा मुछिए पनि नहटाउँदा  प्रधानमन्त्री ओलीले समेत आलोचना खेप्न बाध्य हुनुपरेको छ । 

सात दलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि मन्त्रीहरू फेर्ने तयारी अघि बढाएका छ्न् । अशोक राई नेतृत्वको जसपाबाट अहिले प्रदीप यादव खानेपानी मन्त्री नवलकिशोर साह सुडी महिला बालबालिका तथा ज्येष्ठ नागरिकको भूमिकामा छन् । उता महन्थ ठाकुर नेतृत्वको लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री छन् । उनी २२ औँ पटक मन्त्री पदमा आशिन भएका नेता हुन् । स्रोतका अनुसार अशोक राई नेतृत्वको जसपाले खानेपानी मन्त्री यादवलाई फिर्ता बोलाएर प्रतिनिधिसभाका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतो र महिला मन्त्री सुडीको स्थानमा रञ्जु झालाई पठाउने तयारी गरेको छ । उता लोसपाबाट अध्यक्ष ठाकुरले भण्डारीलाई फिर्ता गरेर सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउने तयारी गरेका छन् । 

मन्त्रिमण्डल पुनर्गठन गर्ने उदेश्यले बिहीबार बसेको सत्ता गठन्धनको बैठक यही कारणले बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री  लेखक सहभागी थिए । एमालेबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । बैठकमा महान्ययाधिवक्ता रमेश बडाल सहभागी गराइएको थियो । बैठकमा मन्त्रिमण्डल पुनर्गठन गर्नेबारे पनि छलफल हुने भनिएको थियो । तर बिहीबारको बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे कुनै छलफल नै भएन । संसदको ठूलो दल कांग्रेसले आफ्ना मन्त्रीहरु फेर्न नचाहेको कारण बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल नगरिएको स्रोतले बताएको छ ।