sevenstartv.com ११ असार २०८३, बिहिवार

फुट्यो नाउपा : रेशमले पत्नी रञ्जितालाई हटाएर बुबालाई बनाए अध्यक्ष

१५ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजन भएको छ । 

रञ्जिता श्रेष्ठविरोधी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै रञ्जिताका पति समेत रहेका संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाएको छ । रेशम पक्षले लालवीरलाई अध्यक्ष बनाएपछि यसअघि रञ्जिताको नेतृत्वमा रहेको नाउपा विभाजन भएको हो । 

रेशम पक्षले बुधबार मात्र रञ्जितालाई साधारण सदस्य समेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो । अध्यक्ष तोकिएपछि लालवीरले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यस्तो निर्णय गरेको बताउनुभएको छ । पार्टीभित्र लामो समयदेखि रहेको विवाद अब भने अन्त्य भएकोे पुनर्गठित अध्यक्ष लालवीरको भनाई छ ।  पुनर्गठित अध्यक्ष लालबीरले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यस्तो कदम चाल्न बाध्य हुनुपरेको दाबी गर्नुभएको छ । अध्यक्ष लालबीरले आफूहरु रञ्जितालाई अझै सम्मानजनक व्यवहार गर्न तयार रहेको समेत बताउनुभएको छ । 

बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिनिधिसभा सदस्य समेत रहनुभएका लालबीरले आफूलाई  अध्यक्ष बनाउन सहयोग गर्ने पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।