sevenstartv.com ११ असार २०८३, बिहिवार

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा भेटिए

१३ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

पोखरा । सिन्धुलीबाट केही दिनदेखि सम्पर्कविहीन भएका हायू परिवारका १६ सदस्य पोखराको गगनगौंडामा भेटिएका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, नियन्त्रणमा लिइएका सबै १६ जनाले आफूहरू मजदुरी काम पोखरा आएको बताएका छन् । उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिएका छन् ।

‘हामी लेबर (मजदुरी) काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’ उनले सुनाए, ‘सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ ।

उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको पाइएको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिनअघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।

‘उनीहरू १४–१५ दिन बस्ने योजनाले आएको भन्ने बुझिएको छ । सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर आएका रहेछन्,’ ओलियाले भने । होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर प्रहरीको अनुसन्धानका क्रममा सुजाता हायू भने श्रीमान्सँग काठमाडौँमा बस्ने गरेको खुलेको थियो ।

यी हुन् बेपत्ता भएकाहरू
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३)  वर्ष २३ की कोमलमाया हायु (बुहारी)
४)  वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७)  वर्ष १२ की शान्ता हायु (छोरी)
८)  वर्ष २९ को राजु हायु (छोरा)
९)  वर्ष २४ को हिमाल हायु (छोरा)
१०) वर्ष १६ को लालबहादुर हायु (छोरा)
११)  वर्ष १४ को बेगबहादुर हायु (छोरा)
१२)  वर्ष ११ को लक्की हायु (छोरा)
१३)  वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४)  वर्ष १० की ओमकुमारी हायु (छोरी)
१५)  वर्ष १ को अर्जुन हायु (नाती)
१६)  वर्ष ४ की रियासा हायु  (नातिनी)