सभापति देउवासँग पार्टीका शीर्ष नेताले गरे भेट, गठबन्धन सरकारको पक्षमा आफूहरू रहेको भनाई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका शीर्ष नेताहरूले भेट गरेका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग उनीहरुले भेट गरेका हुन् । शीर्ष नेताहरूले सभापति देउवालाई कांग्रेस र एमालेबीच बनेको स्थिर सरकारको गठबन्धनलाई बचाइ राख्न सुझाव दिएका छन् । उनीहरूले देउवासँग वर्तमान गठबन्धनको सरकारको पक्षमा आफूहरू रहेको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् ।
चाक्सीबारी बैठकले नेपाली कांग्रेस र एमालेबीच १७ असार २०८१ मा भएको सातबुँदे सहमतिअनुसार सरकारको कामकारबाही हुनुपर्ने निष्कर्ष निकालेको थियो । अहिलेको कांग्रेस र एमालेको गठबन्धनको सरकारको विकल्प आवश्यक नरहेको पनि निष्कर्ष निकालेको थियो ।
भेटवार्ताका क्रममा उनीहरूले सातबुँदे सहमतिमा उल्लेख भएका संविधान संशोधनलगायतका एजेन्डा प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने, गठबन्धनको मर्मअनुसार सरकारको नीति र कामकारबाही तय गर्नुपर्ने धारणा राखेका छन् । संविधान संशोधन, संघीयताको कार्यान्वयन, समावेशिता तथा गठबन्धनको दीर्घकालीन नीति निर्धारणबारे पार्टीभित्र गम्भीर छलफल आवश्यक भएको भन्दै नेताहरू सक्रिय भएका छन् ।
