प्रधानमन्त्री र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता
दुई देशबीचको आपसी सम्बन्ध विकास सहकार्य लगायत विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग ९सिड्का० का अध्यक्ष चेन सियाओदोङ्गबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री ओली र चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।
सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको बताएका छन् । उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिए ।
नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको उनले बताए । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन चीनसँगको किमाथांकालगागत अन्य नाका सञ्चालन र ‘बेल्ट एण्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाको सञ्चालन बिनाअवरोध अघि बढ्नुपर्नेमा जोड दिए ।
