एमालेको केन्द्रीय कमिटी आज पनि
काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका छन् । बैठक आज पुनः ११ बजे बस्ने छ ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका हुन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आइतबार गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन् ।
अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
बैठकमा आफ्नो धारणा राख्न केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ ।
