sevenstartv.com १२ असार २०८३, शुक्रवार

कुलिङ पिरियडविरुद्ध लाग्यो एमाले

४ साउन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौ । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले निजामती सेवामा कुलिङ पिरियड लागू नगर्ने  खालको ऐन बनाउन प्रस्ताव गरेका छन् । 

कुलिङ पिरियड भनेको अवकाश पाएपछि सरकारी कर्मचारीले कति समयसम्म अर्को सरकारी नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधिसभाबाट पारित विधेयकमा अवकाश लिएको मितिले २ वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने प्रावधान छ । तर राष्ट्रियसभामा एमालेका पाँच सांसदले सरकारी कर्मचारीलाई अवकाशपछि अन्य नियुक्तिमा कुलिङ पिरियड लागू गर्ने विषय नराखौं भनेर संशोधन राखेका छन् । 

एमाले सांसदहरु सदस्य गोपाल भट्टराई, । इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पाले यस्तो प्रस्ताव राखेका हुन् । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सांसदहरूलाई संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिनु भएको थियो । संसद् सचिवालयका अनुसार निर्धारित समयभित्र १६ समूहमा ४३ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । 

।विधेयकमाथि राष्ट्रियसभामा परेका संशोधनलाई संसद सचिवालयले एकीकृत गर्नेछ । त्यसपछि दफवार छलफल सभामै गर्ने कि विाधायन व्यवस्थापन समितिमा गर्ने तय हुनेछ । दफावार छलफलमा सांसदहरूका संशोधन, प्रतिनिधि सभाबाट पारित भएर गएको विधेयकको प्रतिवेदन र सरकारले संसद्मा दर्ता गरेको विधेयक एकैसाथ राखेर छलफल हुनेछ ।