पूर्वराष्ट्रपति भण्डारीले च्यासल पुगेरै गराइन् पार्टी सदस्यता कायम
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले मुख्यालय च्यासल पुगेरै पार्टी सदस्यता नवीकरण गराउनुभएको छ ।
पूर्वराष्ट्रपतिको सेवा सुविधा त्यागेर राजनीतिमा सक्रिय भइरहेता पनि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सदस्यता पेन्डिङ राखिएपछि नेतृ भण्डारीले आइतबार पार्टी मुख्यालय गएर सदस्यता कायम गराउनुभएको हो ।
एमालेमा विगतमा विभिन्न तह हुँदै उपाध्यक्ष समेत बनिसक्नु भएको भण्डारीले २०७२ सालमा राष्ट्रपति बनेपछि कानूनी प्रावधान अनुसार पार्टी सदस्यता त्याग्नुभएको थियो । तर पूर्वराष्ट्रपतिको कार्यकाल सकिए लगत्तै पुन पाटीमै सक्रिय हुने अपेक्षासहित भण्डारीले दुई वर्षअघिदेखि एमालेको सदस्यता नविकरण गराउनु भएको थियो । राजनीतिमा सक्रियतासँगै भण्डारीलाई एमालेको अबको अध्यक्षको रुपमा हेर्न थालिएको छ । नेतृ भण्डारीले पनि विभिन्न संचारमाध्यममार्फत त्यस्तै आशयको इच्छा र योजना प्रकरण गरिहनुभएको छ ।
एमालेमा तेस्रो कार्यकाल पनि अध्यक्ष खाने योजना बनाउनुभएका प्रधानमन्त्री ओलीले ११ औँ माहधिवेशनमा आफूविरुद्ध भण्डारी भिड्न सक्ने स्थिति देखेपछि उहाँको सदस्यता नवीकरण रोक्नुभएको हो । एमालेको केन्द्रीय पदाधिकारी बैठकले सदस्यता रोक्ने निर्णय गर्दै पोलिटव्यूरो पनि त्यसबारे छलफल भएपछि भण्डारी कारण खोज्दै पार्टी केन्द्रीय कार्यालय धाउनुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यताबारे जिज्ञासा राख्दा ओलीले उहाँलाई प्रधानमन्त्री निवास बालुवार बोलाउनु भएको थियो । तर भण्डारीले बालुटार जान इन्कार गर्दै पार्टी मुख्यालयकै भेट्न आग्रह गर्नुभएको हो । पार्टी मुख्यालयमा आइतबार अध्यक्ष ओलीसँगको भेटवार्तापछि नेतृ भण्डारीको पार्टी सदस्यता कायम भएको छ ।
