जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राष्ट्रियसभामा सत्ता गठबन्धन अल्पमतमा
काठमाडौँँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै समर्थन फिर्ता लिने घोषणा गर्दैै आएको थियो तर निर्णय गर्न भने सकिरहेको थिएन । प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भएको संवादको दुई दिनपछि जसपा समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पछि जसपाले पनि सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । जसपाको यो निर्णयसँगै राष्ट्रियसभामा सत्ता गठबन्धन अल्पमतमा परेको छ । सरकारले ल्याएका विधेयक अब माथिल्लो सदनबाट अघि बढाउन मुस्किल हुने देखिएको छ ।
