खाँणले छोडे देउवाको साथ, कोइराला निवासमै पुगेर शेखर पक्षमा सक्रिय
काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी सभापति शेरबहादुर देउवाको साथ छोड्नुभएको छ ।
विगतमा सभापति देउवाको विश्वास पात्र मानिनुभएका पूर्वमन्त्री खाँड अहिले भने उहाँको साथ छोडेर वरिष्ठ नेता डा शेखर कोइराला पक्षमा लाग्नुभएको हो । खाँण बुधबार बिहान विराटनगरस्थित कोइराला निवास पुगेर त्यहाँ पत्रकार सम्मेलन नै गर्नुभएको छ । पत्रकार भेटघाटमा खाँडले आफूले सभापति देउवाको साथ नछोडेको दाबी गर्दै नेपालको राजनीतिमा कोइराला परिवारले पु¥याएको योगदान अतुलनीय रहेकोले निवासमा आएको दाबी गर्नुभएको छ ।
कोइराला क्याम्पमा खाँडको उपस्थिति कांग्रेसको राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ कांग्रेसमा पछिल्लो समय नेता तथा कार्यकर्ताहरुले सभापति देउवा र वरिष्ठ नेता कोइरालाको नाममा बेग्लाबेग्लै समूह बनाइरहेका छन् । यस्तो अवस्थामा पूर्वमन्त्री खाँड देउवा र कोइराला दुवैतिर रहन सक्ने अवस्था भने छैन । पूर्वमन्त्री खाँडले आफू सभापति देउवाकै पक्षमा रहेको दाबी गरेता पनि पछिल्लो समय उहाँले देखाएको भूमिकाको कारण अन्य नेता तथा कार्यकर्ताले त्यसलाई स्वीकार्ने स्थिति भने छैन ।
गृहमन्त्री समेत बनिसक्नु खाँड भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेर डेढ वर्षअघि धरौटीमा छुट्नुभएको हो । भूटानी शरणार्थी प्रकरणमा सभापति देउवाले आफूलाई नजोगाएपछि पूर्वमन्त्री खाँडले कांग्रेसभित्र क्याम्प परिवर्तन गर्नुभएको हो ।
