sevenstartv.com १२ असार २०८३, शुक्रवार

संसद विघटन स्वीकृत संवैधानिक प्रावधान अनुसार नै : पूर्वराष्ट्रपति भण्डारी

३१ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपतिले  मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा मंगलवार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो । उहाँले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पार्नुभयो । देशलाई के गर्दा निकास मिल्छ, कस्तो काम कुन बेलामा गर्ने भन्नेकुरा छलफलको विषय हुनसक्ने बताउनु भयो । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको बताउनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘जहाँसम्म संसद विघटनको कुरा हो । यसले मलाई पछ्याइरहन्छ भन्नेकुरा मलाई जानकारी छ । २०१७ सालको, २०५१ सालको कुरा पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि संसद विघटन भएको छ दुई पटक । त्यसलाई मैले कुनै प्रेसर, दबाब भन्दा पनि मन्त्रीपरिषद्ले निर्णय गरेर ल्याएको कुरा मैले कार्यान्वयन गरेको हो । जे व्यवस्था छ त्यहीअनुसार गरेको हो । देशलाई के गर्दा निकास दिनुपर्छ, कुन बेला के काम गर्नुपर्दथ्यो, त्यो छलफलको कुरा हुनसक्छ । मैले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको हो ।’

२०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनलाई सर्वोच्च अदालतले उल्टाएको थियो । पूर्वराष्ट्रपति भण्डारीले भने त्यसलाई संवैधानिक भन्दै बचाउ गर्न खोज्नुभएको हो ।