मन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताए । उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गरेका छन् ।
उनले राजीनामा दिएसँगै अब फेरि देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने समेत फेसबुकमा बताएका छन् । कर्मचारी नियुक्ति र सरुवामा घुस बार्गेनिङ भएको अडियो सार्वजनिक भएसँगै उनी विवादमा तानिएका थिए । यससँगै उनले राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेको थिए ।
