sevenstartv.com १२ असार २०८३, शुक्रवार

विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन रास्वपाको अपिल

३० असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता कार्यकर्तासहित शुभेच्छुकहरूलाई मनसुनका बेला हुनसक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरू सक्रियतापूर्वक जुट्न विशेष अपिल गरेको छ । 

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।  मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठुलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको तथा मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा सवैजना थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको रास्वपाले जनाएको छ ।

‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । यही मर्मलाई आत्मसात् गर्दै, मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यो विज्ञप्तिमार्फत विशेष आह्वान गर्दछौँ’, कार्यवाहक अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।