कांग्रेस-एमाले गठबन्धन सरकारको एक वर्ष पूरा
संविधान संशोधनको एजेन्डालाई बेवास्ता गरेको विपक्षी दलहरूको आरोप
काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त गठबन्धन सरकार बनेको आज एक वर्ष पूरा भएको छ ।
संसदमा दुई ठूला दल कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते मध्यरातमा सात बुँदे सहमति भएसँगै ओली गत वर्षको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सरकार गठन अघि दुई दलबीच भएको सहमतिअनुसार संविधान संशोधन, सुशासन र स्थायित्वलाई प्राथमिकताका साथ उठाइएको थियो । सरकार गठनको एक वर्ष पूरा हुँदासमेत संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलभित्रै असन्तुष्टि बढ्दै गएको छ । सरकार प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना हुँदै आएको छ ।
सात बुँदे सहमतिमा दुई दलले संविधान संशोधनलाई मुख्य राजनीतिक एजेन्डा बनाएका थिए । तर एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको सवालमा सरकार तथा सत्तारुढ दलले कार्यदलसमेत बनाउन सकेका छैनन् ।
