मधेशका मुख्यमन्त्री सिंहद्वारा अपांगहरूकाे जिविकोपार्जनका लागि गैरसरकारी संस्थाहरूले गरेकाे याेगदानकाे प्रशंसा
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपांगता भएका व्यक्तिको जिविकोपार्जनका लागि गैरसरकारी संस्थाहरुले गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै यसको नियमित अनुगमन हुनुपर्नेमा जोड दिएका छन् ।
अस्ट्रेलियन एड, सीबीएम ग्लोबल, लाइफ नेपाल र अपांगता समाज नेपालले संयुक्त रुपमा बुधबार जनकपुरधाममा आयोजना गरेको अपांगता, जलवायु परिवर्तन र जिविकोपार्जन सम्मेलन–२०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले नियमित अनुगमनले सहयोग गरेको सामग्रीको सदुपयोग भएको वा नभएको बारे यकिन हुने तर्क गरे ।
दातृ निकायबाट सहयोग लिने र केही दिन नबित्दै पुनः पुरानै अवस्थामा फर्किने गरेकाले जिविकोपार्जनका लागि उपलब्ध गराएको सामग्रीको सदुपयोग हुनुका साथै अगाडि बढाएको छ वा छैन यसको अनुगमन आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए ।
लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले तीन तहको सरकारले आग्रह मात्र गरे काम कसले गर्ने भनेर प्रश्न गरे ।
उद्घाटन सत्रमा लाइफ नेपालका अरुण चौधरीले एक कार्यपत्र प्रस्तुत गर्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला बिहारी नगरपालिका र औरही गाउँपालि गरी ४१ वडामा संचालित परियोजनामार्फत ४८ स्वयम् सहायता समूह गठन गरिएको जानकारी दिए ।
२०–२५ वर्ष उमेर समूहका नागरिकहरु सहभागी उक्त समूहलाई जलवायु परिवर्तन सम्बन्धी तालिमहरु प्रदान गरिएको चौधरीले बताए । उक्त परियोजना अन्तर्गत तीनै पालिकाका तीन हजार तीन सय ४ जनाको क्षमता अभिवृद्धि गरिएको छ । जिविकोपार्जनका लागि १ सय ३ जनालाई विभिन्न व्यवसाय संचालन गर्न सामग्रीहरु सहयोग गरेको चौधरीले बताए ।
लाइफ नेपालका कार्यक्रम व्यवस्थापक पूजा शर्माले स्वागत मन्तव्य राख्दै अपांगता, जलवायु परिवर्तन र जिविकोपार्जनको अवस्था, चुनौती र समाधानतर्फको पहलबारे प्रकाश पारेकी थिइन् ।
सम्मेलनमा मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्र यादव, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर साह, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साह, मिथिला बिहारी नगरपालिकाका उपप्रमुख शोभा कुमारी साह र औरही गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी साह, शिक्षा विकास निर्देशनालयका निर्देशक महेन्द्र महतो, औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, सीबीएमका कार्यक्रम अधिकृत रोशना कंडेल, अपांग संघ मधेश प्रदेशका किरन पासवान, अपांग मंचका सत्रुधनलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।
