sevenstartv.com १३ असार २०८३, शनिवार

जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड

२२ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा। महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका हुन् । 

उनले पार्टीले आफ्ना मूल मूल्य-मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए । डा. महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

डा. महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भने, 'सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।' डा. महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए । 'विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ,' उनले भने ।

गठबन्धन सरकारमा कांग्रेसको सहभागिता सन्दर्भमा उनले भने, “गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो । तर सरकारमा बसेपछि त्यहाँ बसिराख्ने न्युनतम आधार तयार गर्न जरुरी छ।” उनले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने बताए ।

डा. महतले प्रदेश सरकारहरूमा नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाए । 'प्रदेशमा सिनियर नेताको अभाव छ । अराजकता बढेको छ । यदि यसरी नै गयो भने प्रदेश संरचना प्रति नै जनविश्वास हराउने खतरा छ,' उनले भने । उनले पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको बताए । 

 

यो पनि पढ्नुहोस्