०८४ सालमा हुने निर्वाचनका लागि पार्टी तयार नै नभएको कांग्रेस नेता साउदको भनाई, पार्टीको समग्र अवस्थाप्रति चिन्ता व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । आइतबार ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले
संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएको चेतावनी दिए । उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए ।
साउदले संगठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए। ‘मैले केन्द्रीय कार्यसमितिबाट प्रतिनिधित्व गरेको सर्लाहीमा १४ औं महाधिवेशनपछि आजसम्म बैठक नै भएको छैन। अधिवेशनसमेत अधुरो छ,’ उनले भने। दुईतिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेकोप्रति पनि उनले आलोचना गरे ।
साउद पार्टीका शीर्ष नेताहरू देशभर घुमिरहे पनि संगठन बलियो नबनेसम्म कांग्रेस सशक्त नबन्न बताए ।
