सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्दै
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताएका छन् ।
आज प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको बताएका हुन् ।
सरकारले गत वर्ष समितिको निर्देशन अनुरुप एक वर्षको लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप एक वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए । उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्शानी पुर्याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताएका छन् ।
मन्त्री ठकुरीले पूर्वाधार निर्माणमा वनको कारणले रोकियो भन्ने व्यापक गुनासो आएको भन्दै मन्त्रालयले अब सडक निर्माण, खानेपानी, जलविद्युत आयोजनामा वन मन्त्रालयले छिटो छरितोसँग काम गर्ने प्रयास गरिरहेको बताए ।
