सर्वोत्कृष्ट विद्यार्थीले पदक नपाउने
काठमाडौं । राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ । यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ ।
निर्देशिकामा पदक दिने व्यवस्था छ तर स्रोत अभावले पदक तयार गर्न सम्भव नभएपछि निर्देशिकामा ‘वा प्रमाणपत्र’ वाक्य थप्न लागिएको हो । निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको र कानुन मन्त्रालयमा पुगेको बताइएको छ । गत वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो । यस वर्षको शिक्षा दिवसमा नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषण वितरण गर्न शिक्षा मन्त्रालयले शनिबार सूचना सार्वजनिक गरी आवेदनका लागि आह्वान गरेको छ ।
पदक तयार गर्न गत आर्थिक वर्ष २०८०र८१ मा ६० लाख रुपियाँ विनियोजन गरिएको थियो तर पदक तयार गर्न चार करोड रुपियाँ लाग्ने भएपछि मन्त्रालय पछाडि सर्यो । चालु आव २०८१र८२ मा पनि ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
