विश्व स्वास्थ्य संगठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निम्न र मध्यम आय भएका देशमा बसोबास गर्ने बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ ।
संगठनका अनुसार पहिलो औषधिहरू मंगोलिया र उज्बेकिस्तानमा पु¥याइँदै छ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ । यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।
डब्लुएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशमा यो करिब ८० प्रतिशत छ । लामो समयदेखि क्यान्सर भएका बालबालिकाको जीवन बचाउने औषधिमा पहुँच नभएकाले यो प्रयास थालिएको डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले बताए । प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ ।
यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गर्दछ र करिब एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ । डब्लुएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ । तीमध्ये अधिकांश सीमित स्रोत भएका वातावरणमा बस्छन्। ‘यस्ता वातावरणका ७० प्रतिशत बालबालिका उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधि जस्ता कारणले क्यान्सरबाट मर्ने अनुमान गरिएको छ’, डब्लुएचओले भनेको छ ।

.gif)