महोत्तरीमा बस दुर्घटना : २२ जना घाइते
काठमाडौं । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका-६ रातोपुलमा दुर्घटना भएको हो ।
अनियन्त्रित भएको बस पुलको रेलिङ तोड्दै पल्टिँदा बसमा सवार २२ यात्रु घाइते भएका प्रहरीले जनाएको छ। स्थानीयहरुको सहयोगमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ । जसमध्ये दुईजनालाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउतलाई जनकपुर रेफर गरिएको बताइएको छ । यता अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको छ ।
