जाजरकोटमा जिप दुर्घटना : ५ जनाको मृत्यु
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-३ को बिराखोला कैना-कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जनाइएको छ । जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरे ।
नलगाड नगरपालिका-३ करुवाका ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो ।
घाइते दुईमध्ये २१ वर्षीय जीवन विकको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात उनलाइ डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
