२० जिल्लाका ७१ वटा स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत रकम दिइने
काठमाडौं । राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको छ । गत भदौ २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० जिल्लाका ७१ वटा स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सोही अनुसार ५० लाखदेखि १ करोडसम्म राहत रकम दिने निर्णय भएको हो ।
पहिलो तहका ९ वटा स्थानीय तहलाई १ करोडका दरले रकम छुट्टाइएको छ । दोस्रो तहका १२ वटा स्थानीय तहलाई ७५ लाख र तेस्रो तहका ५० वटा स्थानीय तहलाई ५० लाख रकम छुट्टाइएको हो ।
बैठकले सरकारलाई विपद्जन्य घटनामा मृत्यु भएका परिवारका एक जना सदस्यको बीमा गर्न सिफारिस गर्ने निर्णय पनि गरेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले बताउनुभयो ।
