sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

दशैंपछि सरकारी कार्यालय र खुल्न थाले अस्पताल, सडकमा चहलपहल

२९ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । दशैं बिदा पछि सरकारी कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राही आउन थालेका छन्। फुलपातीदेखि सुरू भएको दशैं बिदा आजदेखि सकिएसँगै आजदेखि सरकारी कार्यालयले सेवा सुचारू गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन्। आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुलेका हुन ।

दशैँमा १३ लाख जना काठमाण्डौबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाण्डौँमा भिडभाड बढ्न लागेको छ । उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

यसपटक धेरैजसो सडकको यात्रा कष्टकर हुने भएकाले पनि जरुरी काम पर्नेबाहेक अरुले खासै यात्रा गरेका छैनन् । कतै सडक एकतर्फी मात्रै खुलेका छन् भने दुईतर्फी खुलेका सडक पनि धुलाम्मे र हिलाम्मे छन् । काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने भरपर्दो मानिएको बीपी राजमार्गको १२ किलोमिटर सडक नै बाढीले बगाएपछि यो सडकको यात्रा अनिश्चित छ । अस्थायी डाइभर्सन बनाएर सडक एकतर्फी रुपमा चलाए पनि बेला बेला झर्ने सुक्खा पहिरोले यात्रा जोखिमपूर्ण बनाएको छ । साना नीजि गाडी चलेपछि ठूला सार्वजनिक गाडी बीपी राजमार्ग हुँदै चल्न सकेका छैनन् । बीपी राजमार्गको विकल्पमा हेटौँडाबाट काठमाण्डौ आउने गाडीका कारण हेटौँडा–काठमाण्डौ छोटा सडकमा गाडीको चाप छ ।

कान्ति लोकपथको ललितपुरको बगुवामा बाग्मतीले पुल नै बगाएपछि बनाएको अस्थायी डाइभर्सन एकतर्फी हुँदा लामोे जाम हुने गरेको छ । फर्पिङ–कुलेखानी सडक पनि धेरै ठाउँमा एकतर्फी छ । त्रिभुवन राजपथ हुँदै नौबिसे निस्किएर काठमाण्डौ आउने सडक भने ठिकठाक रहेको छ ।यस्तै, काठमाण्डौ–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ ।

पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ । यसवर्ष करिब १३ लाख सर्वासधारणले सडकमार्गबाट उपत्यका छाडेको तथ्यांकमा उल्लेख छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्