sevenstartv.com ९ चैत २०८२, सोमवार

सवारी दुर्घटना : दुई जना प्रहरीको मृत्यु

२१ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका-८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-४ गोकुवा चोकमा प्रदेश १-०२-०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १-०२-००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १ः४० बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान तामाङको मृत्यु भएको हो ।मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । दुर्घटनालगत्तै प्रहरीले मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई नियन्त्रणमा लिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्