नवरात्रको चौथो दिन : कुष्माण्डाको पूजाआराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो ।
कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती ९चण्डी०को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा-त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिनुहुन्छ ।
नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।
