बाढी पहिरोले देशभरका विभिन्न सडक अझै अवरुद्ध, काठमाण्डौ जोड्ने सबै नाका ठप्प
काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् ।
साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।
बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक पनि ठप्प छन् । मुग्लिन-काठमाण्डौ, सिन्धुली-काठमाण्डौ, सिन्धुपाल्चोक-काठमाण्डौसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् । काठमाण्डौसँग अरू जिल्लाको आवतजावत टुटेको छ ।
देशका अरू ठाउँमा पनि सडक अवरुद्ध भएका छन् । सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन-पोखरा, नारायणगढ-मग्लिन, बेनी-जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड लगायतमा पहिरोले क्षति पुर्याएको छ ।
कतिपय ठाउँमा पुल नै बगेका छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ । सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्थामा वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ ।
सडक विभागले बाढीले बगाएको ठाउँमा खोलाबाट तत्कालका लागि अस्थायी सडक बनाएर वा बाँध बाँधेर भए पनि यातायात सञ्चालनमा ल्याउने तयारी भएको जनाएको छ ।
यसैबीच नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ । पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरेर काठमाण्डौ ल्याइएको सडक विभागले जनाएको छ ।




















