बाढीपहिरो र डुबान : देशभर ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता
काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ ।
विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।
