बाढीडुबान वितण्डा : देशभर ५० जनाको मृत्यु, दर्जनौं वेपत्ता
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।
शनिबार दिउँसोसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार गरिएको छ ।
हालसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धुपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको हो । बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता भएका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार गरिएको छ ।
उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
